arrow

रोपो कुहिन थालेपछि किसान चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
dhan-bali-parbat.jpg
फाइल तस्बिर

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ ।

गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो । थप नकुहियोस् भनेर औषधि छर्कए । तर, कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उहाँको भनाइ छ । 

काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका अधिकांश किसान खत्रीको जस्तै रोपो कुहिने समस्याले चिन्तित छन् ।

किसानले कृषि ज्ञान केन्द्रमा रोपो कुहिएको र सुकेको जानकारी गराएका छन् । ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालसहितका प्राविधिकको टोलीले स्थलगत जाँच गरेको छ ।

गवारो कीरा र खेत कुहिने रोगका कारण अधिकांश किसानको रोपो कुहिएको र सुकेको सिलवालले बताए । सिलवालका अनुसार किसानमा प्राविधिक ज्ञानको अभावले रोपो कुहिने र सुक्ने समस्या देखिएको हो ।

जथाभावी झारनाशक विषादीको प्रयोग गरेका कारण पनि रोपोमा समस्या देखिएको उनले बताए ।

“रोपो कुहिएको र सुकेको भन्दै दैनिक कृषि ज्ञान केन्द्रमा सात जनाभन्दा बढी किसान आउनुहुन्छ,” सिलवालले भने, “खेतमै पुगेर अनुगमन गर्ने र सल्लाह सुझाव दिने गरेका छौँ ।”

गौरिया, मसिनो, गुडुरा, जेठोबुढो र हाइब्रिड धानमा बढी समस्या देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी बताए । निरीक्षणपश्चात समस्याअनुसार विषादी दिएर पठाउने गरेको उनले बताए । 

उनका अनुसार रोपो पहेँलो हुने समस्या देखिएपछि किसानले युरिया मल प्रयोग गर्दा समस्या थपिएको हो । जिल्लामा धानखेती हुने पाँच हजार ७०७ सात हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ४७८ हेक्टर क्षेत्रफलमा यसवर्ष रोपाइँ भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ