शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघको आन्दोलन, प्रमुख सचेतकहरूलाई ध्यानाकर्षणपत्र बुझाइयो
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
558
Shares
काठमाडौं। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै देशभर आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो चरणअन्तर्गत महासंघले सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले गत वैशाखमा सरकारसँग भएको नौ-बुँदे सहमतिहरू विधेयकमा समावेश नभएको भन्दै पुनः आन्दोलनमा जानुपरेको बताए। महासंघले अस्थायी शिक्षकको आन्तरिक पदपूर्तिका लागि ७५ प्रतिशतको व्यवस्था, आवधिक बढुवा, अध्यापन अनुमतिपत्रको नवीकरण, र विद्यालय कर्मचारीको तलब तथा पदको सुरक्षाजस्ता मागहरू अगाडि सारेको छ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयकमा धेरै राम्रा पक्षहरू रहेको र केही बाँकी मागहरूलाई समयक्रममा सम्बोधन गर्दै जाने बताए। उनले सरकारलाई ठूलो आर्थिक भार नपर्ने मागहरूलाई तत्काल सम्बोधन गर्न आग्रह गरे।
नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकायले भने संघीयता कार्यान्वयनका लागि विधेयक आउनु नै महत्त्वपूर्ण भएको बताए। उनले विधेयक अपरिवर्तनीय नभएकाले भविष्यमा आवश्यकताअनुसार संशोधन गर्न सकिने धारणा राखे।