सुत्केरी आमा र नवजात शिशुका लागि पोषण सामग्री वितरण
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
642
Shares
भोजपुर। सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ। वडा कार्यालयले यहाँका २० जना सुत्केरी महिलालाई यस्तो सहयोग गरेको हो।
वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार, वडाले करिब ७५ हजार रुपैयाँ बजेट विनियोजन गरी घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्री लगायतका पोषणयुक्त वस्तुहरू उपलब्ध गराएको छ।
गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रमले सुत्केरी आमामा पोषणको कमी हुन नदिने र नवजात शिशुको स्वास्थ्य सुदृढ बनाउने लक्ष्य राखेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताएका छन्। उनले यो कार्यक्रमलाई निरन्तरता दिने र यसले आमा तथा बच्चाको पोषणको क्षेत्रमा सहजता थप्ने विश्वास व्यक्त गरे।
यस अवसरमा सहभागीहरूलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्त्व र पोषणसँग सम्बन्धित चेतनामूलक सन्देश पनि दिइएको थियो।