उत्तरी नाकाहरू बन्द हुँदा व्यापारमा समस्या, अन्य नाका खोल्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
525
Shares
काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण रसुवागढी र तातोपानी नाकाहरू बन्द भएपछि चीनसँगको व्यापारलाई सहज बनाउन अन्य नाकाहरू खोल्न कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।
गत असार २४ गतेको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट आवागमन ठप्प छ। त्यसैगरी, सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि अवरुद्ध छ। यसले गर्दा नेपालका लागि आयात भइरहेका सयौँ कन्टेनर र ट्रकहरू बाटोमै अलपत्र परेका छन्।
नेपाल र चीनबीच स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य विकल्पहरू खोज्नुपर्नेमा संघले जोड दिएको छ। २०७२ सालमा व्यवस्थापिका संसदको विकास समितिले कोरला र ओलाङ्चुङगोला नाकाहरू सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो।
एक दशकअघि नै दुवै देशका उच्च अधिकारीहरूबीच सातवटा उत्तरी नाका खोल्न सहमति भएको थियो। जसमा तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङ्चुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के समावेश थिए।
संघका अनुसार, कोरला नाका बाह्रै महिना सञ्चालन गर्न सकिने अवस्थामा छ। चीनतर्फ आवश्यक पूर्वाधार तयार भइसकेको र नेपालतर्फ पनि सडक पुगिसकेको छ।
नेपालको आयात व्यापारमा चीन दोस्रो ठूलो साझेदार हो। चाडपर्व नजिकिँदै गर्दा यी नाकाहरू बन्द हुँदा व्यापारिक गतिविधिमा कमी आउने र उपभोक्ताले सुपथ मूल्यमा सामान पाउन नसक्ने जोखिम बढेको छ। यसले सरकारको राजस्वमा समेत असर पर्ने भन्दै संघले थप नाकाहरू खोल्न तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।