डिजिटल नेपाल कन्क्लेभमा केपी ओलीदेखि गगन थापाले गरे डिजिटल रूपान्तरणका कुरा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
874
Shares
काठमाडौँ । आईसीटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ सम्पन्न भएको छ ।
‘डिजिटल सिनर्जी: ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ मुख्य थिममा साउन ३० गते शुक्रबार पुलचोकस्थित द प्लाजामा भएको कार्यक्रममा डिजिटल रूपान्तरण र इकोसिस्टम विकासका विभिन्न आयाममा छलफल भएको थियो ।
कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङ, सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
विभिन्न सरकारी तथा निजी क्षेत्रका ६०० बढी उच्च पदस्थ व्यक्तिहरूको सहभागीता रहेको कन्क्लेभमा डिजिटल सुशासन, डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल स्वास्थ, डिजिटल अर्थतन्त्र, आईसीटी उद्योग लगायतका विषयमा ८ बढी सेसन सञ्चालन भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रधानमन्त्री ओलीसँग पावर संवाद सञ्चालन भएको थियो । पावर संवादको सहजीकरण व्यास मिडियाका संस्थापक सञ्जय सिलवाल गुप्ताले गरेका थिए । पावर संवादमा बोल्दै प्रधानमन्त्रीले लोकेसन र वातावरण अनुकुलका कारण नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताए ।
कार्यक्रममा उनले नयाँ पुस्ता सूचना प्रविधिमा अब्बल रहेको बताउँदै आवश्यक सहयोग र सहजीकरण गर्नका लागि सरकारको प्रतिबद्धतासमेत जनाएका थिए । यो वर्ष जीडीपीमा आईसीटीको योगदानलाई दुई प्रतिशत पुर्याउने उनको भनाइ छ ।
यस्तै अर्थमन्त्री र गगन थापासँग पावर प्यानलिष्ट सेसन सञ्चालन गरिएको थियो । यस सत्रको सहजीकरण रूपेश श्रेष्ठले गरेका थिए । उक्त सत्रमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले कर प्रणालीमा अनुचित काम भएको भए जानकारी दिन अनुरोध गरेका थिए । त्यस्तो गर्ने व्यक्तिलाई तत्कालै कारवाही गर्ने प्रतिबद्धता व्यक्त उनले गरेका थिए ।
कार्यक्रममा गगन थापाले सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्दै फेसलेस अवधारणामा जानुपर्नेमा जोड दिएका थिए ।
महत्त्वाकांक्षी कुराहरू गर्ने र लेख्ने तर कार्यान्वयन नगर्दा समस्या देखिएको भन्दै अब स्पीड बढाउनु पर्ने समय आएको बताए ।
त्यस्तै मुख्यसचिव एकनारायण अर्यालले प्रणालीहरूबीच अन्तरआवद्धता भएपछि मात्रै डिजिटलाइजेसन सम्भव हुने बताए ।
‘कम्प्युटरमा टाइप गरेर डिजिटलाइजेनस हुँदैन । त्यसका लागि प्रणालीहरूबीच अन्तरआवद्धता हुनुपर्छ,’ उनले भने, ‘अहिले निजी क्षेत्रको आफ्नै सिस्टम छन् । सरकार पनि आफ्नै सिस्टममा काम गरिरहेको छ । यी इन्टिग्रेसन नगरेर विकास हुँदैन ।’
त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले डिजिटल प्रविधिको प्रयोगमार्फत हुने सबै इन्नोभेसनले समाजको वास्तविक समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरूङले पूर्वाधारको हिसाबले नेपाल प्रारम्भिक स्थानमा भएको बताउँदै डिजिटल पूर्वाधार छनौट नभएर राष्ट्रिय आवश्यकता भएको बताए ।
‘इन्नोभेसन र प्रविधिले नागरिकलाई केन्द्रमा राख्नुपर्छ । सरकार पूर्वाधार विकास र कानुनी सुधार र निर्माण गर्नेतर्फ अगाडि बढेको छ’, उनले भने, ‘आईसीटीको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ । त्यसपछि डिजिटल सिनर्जी आउँछ ।’
आईसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले आईसीटी क्षेत्रको विकासका निजी क्षेत्रले अधिकत्तम प्रयास गरिरहेको बताउँदै उनले अब सरकारले पनि नीतिगत सुधार गर्दै कार्ययोजना र कार्यशैली सुधार गर्नुपर्ने बताए ।
कन्क्लेभमा आईसीटी विज्ञ मनोहर भट्टराई र गूगल दक्षिण एसियाका सरकारी मामिला तथा सार्वजनिक नीति प्रमुख डा. काइल गार्डनरले किनोट प्रस्तुति दिएका थिए ।
भट्टराईले डिजिटल नेपाल निर्माणका लागि राजनीतिक प्रतिबद्धता महत्त्वपूर्ण भएको बताएका थिए भने गार्डनरले डिजिटल सिनर्जीका लागि सरकार, निजी क्षेत्र तथा नागरिक समाजको सहकार्यमा आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे, नेपाल भारत च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका को-चेयर सैबाल घोस, काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा मनिष पोखरेल, पूर्व सहसचिव विरेन्द्र मिश्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा. विकास देवकोटा, त्रिभुवन विश्वविद्यालयको आईटी इन्नोभेसन सेन्टरका निर्देशक प्रा.डा. सुवर्ण शाक्य लगायतले समेत सम्बोधन गरेका थिए ।
कन्क्लेभका विभिन्न सत्रमा डिजिटल शुशासनका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव आदेश खड्का, डिजिटल हेल्थ ब्लुप्रिन्टका विषयमा वीर अस्पतालका प्रमुख मेडिकल सुपेरेटेन्डेन्ट डा. मदन कुमार उपाध्याय, डिजिटल सार्वजनिक पूर्वाधारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह-सचिव सुबास ढकाल र आईसीटी उद्योगको विषयमा नास आईटीका अध्यक्ष सन्तोष कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कन्क्लेभको विभिन्न सत्रमा वक्ताको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, ई- गभर्नेन्स बोर्डका सीईओ दिपेश विष्ट, वाईकोका प्रबन्ध निर्देशक दिपेश प्रधान, किओचका अध्यक्ष प्रा. डा. भगवान कोइराला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आईटी निर्देशक सुरज प्रकाश अर्याल, पाथकी कार्यक्रम प्रबन्धक दिक्षा पोखरेल, जीआईजेडका वरिष्ठ प्राविधिक सल्लाहकार निर्मल ढकाल, शुन्यएकका सह-संस्थापक सञ्जय पौडेल रहेका थिए ।
त्यसैगरी प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल, सामाजिक सुरक्षा कोषका आईटी निर्देशक डा. रोशन कोजु, नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान प्रधान, वर्ल्डलिंकका सीईओ केशव नेपाल, सूचना प्रविधि विभागका महानिर्देश रमेश शर्मा पौडेल, नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत डिल्लीराम अधिकारी, ड्राई आइस सोलुसनका संस्थापक सन्तोष भुसाल, जेनसका संस्थापक अञ्जनी फुँयाल र एक्योर नेपालकी सञ्चालन निर्देशक सलुजा आचार्य पनि वक्ताको रूपमा सहभागी रहेका थिए ।
डिजिटल नेपाल कन्क्लेभको अवसरमा गूगलले नेपालमा स्ट्रिट भ्यू सेवा समेत सार्वजनिक गरेको छ । गूगल म्याप्सका स्ट्रिट भ्यु आउटसोर्स अपरेशन प्रमुख निशान्त नायरले नेपालमा स्ट्रिट भ्यू सेवा आधिकारिक रूपमा शुरू भएको घोषणा गरेका थिए ।
कार्यक्रममा यस वर्ष डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका विभिन्न ८ क्षेत्रहरुलाई समेटेर रिसर्च पेपर तथा डिजिटल इनिसिएटिभ्सहरू प्रस्तुत र शोकेस भएका थिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ई-गभर्नेन्स बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, गूगल, नेपाल टेलिकम, एनसेल, निमा एजुकेसन फाउन्डेसन, डायनामिक टेक्नोसफ्ट, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, ठकराल वान, इसेवा, खल्ती बाई आईएमई, माभोरियन सिस्टम, स्काइ ब्रोडब्याण्ड, पिक एण्ड ड्रप, ई-ग्रुप, एनआईसीसीआई, गरिमा विकास बैंक, क्यान महासंघ लगायतका संस्थाहरूको सहकार्य रहेको थियो ।
आईसीटी फाउन्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ’ र मधेश प्रदेशमा एक दिने ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना गरेको थियो भने सातै प्रदेशमा डिजिटल साक्षरता सम्वन्धि अभियान ‘आईसीटी ज्ञान’ कार्यक्रम सञ्चालन गरेको थियो ।
डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल रुपान्तरणको लागि एउटा अर्थपूर्ण पहल/अभियान हो । यस कार्यक्रमले डिजिटल नेपालका लागि भइरहेका प्रयास, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्न आशा गरिएको छ ।