एनआईसी एशियाले सबैभन्दा बढी ब्याज दिने, सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
843
Shares
काठमाडौँ। भदौ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरेका छन्, जसमा औसत ब्याजदर घटेको छ। साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ५.६० प्रतिशत ब्याज दिइरहेका बैंकहरूले भदौमा यो दर घटाएर ५.५७ प्रतिशतमा झारेका छन्। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ४.११ प्रतिशतबाट घटेर ३.९६ प्रतिशतमा झरेको छ।
बैंकहरूका अनुसार, एभरेस्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। तर, प्रभु बैंकले भने यो दर १.१ प्रतिशत बिन्दुले बढाएर ५.३५ प्रतिशत पुर्याएको छ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ। यो बैंकले साउनको ब्याजदरलाई नै निरन्तरता दिँदै अधिकतम ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ। यसबाहेक, सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे र नेपाल बैंकले पनि साउनकै ब्याजदरलाई यथावत् राखेका छन्।
भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको रहेको छ, जहाँ अधिकतम ५ प्रतिशत ब्याज दिइनेछ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले बजारमा लगानी बढाउन ब्याजदर घटाउन बैंकहरूलाई नीतिगत रूपमै दबाब दिइरहेको छ। तर, केही विज्ञहरूले यसले पुँजी पलायनको खतरा बढाउन सक्ने चेतावनी दिएका छन्।
वाणिज्य बैंकहरूको तुलनामा विकास बैंकहरूको ब्याजदर भने स्थिर देखिएको छ। गरिमा, मुक्तिनाथ, कामना सेवा र महालक्ष्मी विकास बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्।