काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आउने भएका छन्।
भ्रमणका क्रममा सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार, उनीहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका विविध विषयमा कुराकानी गर्नेछन्।
काठमाडौँमा रहँदा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्च अधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। उनी सोमबार काठमाडौँबाट प्रस्थान गर्नेछन्।