arrow

पहिरोको जोखिममा बेनी–जोमसोम कोरला सडक, रातको यात्रामा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
kerela-sadak.jpg

म्याग्दी (बेनी) । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम कोरला सडकखण्डमा ठूला पहिरोहरूले सवारी यात्रालाई असुरक्षित र असहज बनाएको छ। म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानहरू जस्तै सिरुवारी, खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, सुकेबगर र महभिरमा निरन्तर पहिरो खसिरहेका छन्।

बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख ध्रुव कुमार झाले बर्खायाममा डोजर लगाएर सडक खुलाए पनि पहिरोको स्थायी समाधान नभएसम्म यात्रा सुरक्षित बनाउन सम्भव नदेखिएको बताए।

आयोजनाले पहिरो नियन्त्रणका लागि भूगर्भविद्हरूको टोलीबाट विस्तृत अध्ययन गराएर करिब २० करोड बजेट विनियोजन गरी ठेक्का आह्वान गरे पनि कुनै पनि निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग लिएनन्, जसले गर्दा पहिरो रोकथामको योजना अलपत्र परेको छ। यस वर्ष पनि सोही योजनाका लागि बजेट विनियोजन गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।

बेनीदेखि घाँसासम्मको करिब ४० किलोमिटर सडक खण्डमा १० वटा ठूला पहिरोहरू छन्। पहिरोका कारण म्याग्दी र मुस्ताङका सर्वसाधारण, पर्यटक र तीर्थयात्रीहरूले हरेक वर्ष जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।

पहिरोको जोखिम बढेसँगै जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले वर्षासँगै ठूला पहिरोको जोखिम बढेकाले राति यात्रा बन्द गरिएको जानकारी दिए।

अन्नपूर्ण गाउँपालिका– ३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पानी पर्दासाथ पहिरो खस्ने समस्याले रातमा यात्रा गर्न उपयुक्त नभएको बताए। उनले वर्षात नरोकिँदासम्म बेनी–घाँसा खण्डको यात्रा निकै जोखिमपूर्ण रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ