आज पश्चिमी नेपालमा मनसुन बढी सक्रिय, भारी वर्षाको सम्भावना
सतर्कता अपनाउन मौसमविद्को आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
634
Shares
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकोले आज देशको पूर्वी भागभन्दा पश्चिमी भागमा मनसुन बढी सक्रिय रहनेछ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। महाशाखाले लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
त्यसैगरी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
महाशाखाले वर्षाका कारण पहाडी भागमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने बताएको छ। साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात सेवा प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।