नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आबद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
328
Shares
तस्बिर : फाइल
काठमाडौँ। नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएका छन्। नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एक सय भन्दा बढी कर्मचारी रहेका छन्।
कोषको यस योजनामा सङ्गठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ। यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर सङ्घ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्। सोही व्यवस्था अनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएका हुन्। यसअघि पनि कोषसँग नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भइसकेको छ।
कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न सङ्गठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम सङ्कलन गरी लगानी गर्ने र कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने गरिएको छ। यस योजनामा योगदानमा आधारित र गैर योगदानमा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ। हाल यस योजनामा १ हजार १५० सङ्गठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन्।
यस योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनु हुनेछ। त्यसै गरी सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्था समेत रहेको छ।