सामाजिक सञ्जालमा ‘नेप्से एआई’ जस्ता एपबाट ठगी बढ्दो, प्रहरीद्वारा सतर्क रहन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
718
Shares
काठमाडौँ। नेपाल प्रहरीले सामाजिक सञ्जालमा आउने आकर्षक विज्ञापन र एपहरूको प्रयोग गरी ठगी गर्ने नयाँ तरिकाबारे सचेत गराएको छ। पछिल्लो समय ‘नेप्से एआई’ नामक एपको प्रयोग गरेर धितोपत्र बजारमा बढी नाफा कमाइदिने भन्दै ठगी भइरहेको पाइएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार, फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा यस्ता भ्रामक विज्ञापनहरू देखाएर मानिसहरूलाई उक्त एप डाउनलोड गर्न प्रेरित गरिन्छ। एप इन्स्टल गरेपछि ह्याकरहरूले रिमोट सेसनमार्फत प्रयोगकर्ताको फोनमा पहुँच बनाउँछन् र खातामा भएको सम्पूर्ण रकम क्षणभरमै अन्यत्र ट्रान्सफर गर्छन्। यसरी ठगी गरिएपछि प्रमाण नष्ट गर्न फोनमा रहेका सबै डाटा र एपहरू मेटाइदिने गरेको पनि पाइएको छ।
हालै एउटा घटनामा एक जना व्यक्ति (जोन डोइ) ले यस्तै विज्ञापनबाट ‘नेप्से एआई’ एप डाउनलोड गरेपछि उनको बैंक खाताबाट रु २८ लाख ६१ हजार चोरी भएको थियो।
साइबर ब्युरोले यस्ता ठगीबाट बच्नका लागि केही महत्त्वपूर्ण सुझावहरू दिएको छ। सामाजिक सञ्जाललाई सुरक्षित बनाउन दोहोरो सुरक्षा कोड प्रयोग गर्न वा एसएमएसको प्रयोग गर्नु उपयुक्त हुन्छ। पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्छ। आफ्नो डिजिटल उपकरण अपरिचित व्यक्तिलाई कुनै पनि प्रकारको जानकारी नदिने र आधिकारिक स्रोतबाट मात्र एपहरू इन्स्टल गर्नुपर्छ। यस्ता घटना घटेको थाहा पाउनासाथ सम्बन्धित बैंक वित्तीय संस्था वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न साइबर ब्यूरोले आग्रह गरेको छ।