arrow

मध्यपुर थिमिमा रगत निःशुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
madhyapur-thimi-nagarpalika.jpg

भादगाउँ। मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग सम्झौता नवीकरण गर्दै मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो ।

सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार मध्यपुर थिमि नगरवासीले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेको भक्तपुर रक्तसञ्चार सेवाबाट निःशुल्क रूपमा रगत तथा रक्ततत्व प्राप्त गर्नेछ ।

रगतका लागि आवश्यक पर्ने दस्तुर रेडक्रसले नगरपालिकासँग सोधभर्ना मागेपछि नगरपालिकाले भुक्तानी दिने सम्झौतामा उल्लेख छ ।

सम्झौताले नगरवासीले कुनै बेला आवश्यक परेको रगत रेडक्रसबाट सहज रूपमा उपलब्ध हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताएयो ।

उनले बिरामीको जीवन बचाउन आवश्यक रगतसमेत शुल्क तिरेर लिनुपर्ने बाध्यता रहेकाले नगरवासीको सर्वसुलभ र निःशुल्क रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार रक्षाका लागि रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत वितरण गरेको बताए ।

मध्यपुर थिमि नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबीच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्व प्रदान गर्नेबारे सम्झौता भएको हो । सोही सम्झौतालाई नगरपालिकाले निरन्तरता दिँदै आइरहेको छ ।

मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सम्झौताको पहिलो वर्ष ७४७ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क वितरण गरेको थियो ।

सोको रु सात लाख ३२ हजार ९९८ रेडक्रसलाई भुक्तानी गरेको स्वास्थ्य शाखाप्रमुख श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३६१ जनाले निःशुल्क रगत तथा रक्ततत्व सेवा लिएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा ४७९ जनाले ८१४ पिन्ट रगत तथा रक्ततत्व लिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ