सरकारको प्राथमिकता धुलो र हिलो रहित सडक निर्माण : उपप्रधानमन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
693
Shares
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले यस्तो सडकको परिकल्पना मात्रै नगरेर त्यसलाई व्यावहारिक रूपमा सार्थक बनाउन लागेको दाबी गरे।
पौडेलले सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको बताएका छन्। उनका अनुसार, सरकारले अहिले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरिरहेको छ र झापाको काँकडभित्तादेखि कञ्चनपुरसम्म सडकको स्तरोन्नति गर्ने काम सुरु भइसकेको छ।
साथै, लामो समयदेखि प्रतीक्षा गरिएको हुलाकी सडक र मध्यपहाडी लोकमार्ग को निर्माण पनि द्रुत गतिमा भइरहेको उनले जानकारी दिए। यी सडकहरूले यातायातको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रका सबै सूचकहरूमा सकारात्मक सुधार भइरहेको जानकारी दिए। उनले आवश्यक परेका ठाउँमा नीतिहरू संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताए।
आगामी तीन वर्षभित्र सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने योजना बनाएको छ। यसका लागि टुकुचादेखि पश्चिमको भूभागमा रहेका पुराना संरचनाहरू भत्काएर व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बनाइने उनले बताए।