धरान। प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार, भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्। इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले उनीहरूलाई गए राति नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार, मोटरसाइकलमा पछाडि बसेका राजेश चमार रजकको साथबाट एक हजार दरका ३८ थान नक्कली नोट (कुल ३८ हजार रुपैयाँ) फेला परेको छ। बरामद नक्कली नोट र मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।