राजविराज। मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगड गाउँपालिका-२ कमलपुरका ३६ वर्षीय लालु यादव रहेका छन्।
भारतीय सीमा नजिकै ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले 'सर्च अप्रेसन' चलाएको थियो। यस क्रममा स्थानीय र प्रहरीबीच झडप भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार, प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको थियो। सोही क्रममा यादवको तिघ्रामा गोली लागेको थियो। गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ। यसअघि पनि सप्तरी प्रहरीले चार दिनअघि छिन्नमस्ता गाउँपालिका-१ मा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो।