इनरुवा (सुनसरी)। पूर्वी पहाडी र तराईका जिल्लाहरूमा भएको लगातारको वर्षाले गर्दा सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव भइरहेको छ। सोमबार बिहानदेखि रातिसम्म पानीको बहाव १ लाख ७५ हजार क्यूसेकभन्दा माथि नै रहेको छ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, सोमबार राति १० बजे कोशी ब्यारेजमा १ लाख ७९ हजार ७४० क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको छ। यो बहाव बढिरहेकोले अहिले ब्यारेजका ५६ वटा ढोकामध्ये १९ वटा ढोका खोलिएको छ।
कोशी ब्यारेज भएर १ लाख ५० हजार क्यूसेकभन्दा बढी पानीको बहाव भएपछि खतराको संकेतका रूपमा रातो बत्ती बालिन्छ। ब्यारेजमा रातो बत्ती बालिसकिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
२०६५ साल भदौ २ गते पनि १ लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यसैले अहिलेको यो बहावलाई निकै जोखिमपूर्ण मानिएको छ।