कालीगण्डकी नदीमा पानीको बहाव यस वर्षकै उच्च, तटीय क्षेत्रमा जोखिम बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
753
Shares
पर्वत। लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भारी वर्षाले नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्।
आज बिहान नदीको सतह ६.४० मिटरको उचाइमा पुगेको थियो, जुन यस वर्षकै सबैभन्दा उच्च मापन हो। यद्यपि, वर्षा रोकिएकाले बहाव घट्दै जाने सम्भावना रहेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन्।
नदीको बहाव बढ्दा पर्वतको जलजला गाउँपालिकाअन्तर्गतका बगरफाँट, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, र फलेवास नगरपालिकाका जैमिनीघाटसहितका क्षेत्रहरू उच्च जोखिममा छन्।
नदीको बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ। यसले गर्दा उक्त क्षेत्रका पुजारी र स्थानीयवासी चिन्तित बनेका छन्। शिला संरक्षणका लागि बनाइएका तटबन्धहरू पनि पानीले पुरिएका छन्, जसले दर्शनका लागि जाने पूर्वाधारमा पूर्ण क्षति पुगेको छ।
कालीगण्डकी 'ए' जलविद्युत् आयोजनाको बाँधका कारण पानीको सतह बढेपछि सेतीवेणी बजार पनि डुबानको खतरामा छ। विगतमा पनि बाढीले क्षति पुर्याएको अनुभव भएकाले करिब दुई सय व्यवसायी र स्थानीय बासिन्दा त्रसित छन्।