संघीय संसदका दुई समितिको बैठक: भूमि र सम्पदाबारे छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
1.7k
Shares
काठमाडौँ। संघीय संसदका दुई महत्त्वपूर्ण समितिहरू, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक
यस बैठकको मुख्य कार्यसूची भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि सरोकारवालाहरूसँग छलफल गर्नु हो।
समितिले विशेष गरी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीसँग सम्बन्धित विषयमा छलफल गर्नेछ। यस क्रममा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र भविष्यमा उपलब्ध गराइने जग्गाको योजनाबारे जानकारी लिइनेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक
यो बैठकमा पुरातत्व विभागसँग महत्वपूर्ण विषयमा छलफल हुनेछ। बैठकमा ग्यालरी बैठकको पुरातात्विक सम्पदाको संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा बनेको व्यायामशाला, र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भनिएको विषयमा छलफल गरिनेछ।
यसबाहेक, सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठकको पुनर्निर्माणको अवस्था र निर्माणाधीन संसद भवनको पछिल्लो अवस्थाबारे पनि छलफल हुनेछ।