बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिका-६ मोरीबगरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
स्थानीयको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मोरीबगरमा प्रहरी चौकी स्थापना बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
उनले भने, “भौगोलिक रूपमा दुर्गम रहेको मोरीमगरका स्थानी बासिन्दाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको हो ।” मोरीबगरमा प्रहरी चौकी स्थापनाका लागि सिगास गाउँपालिकाले लामो समयदेखि पहल गर्दै आएको थियो ।
गाउँपालिका अध्यक्ष हरिसिंह धामीका अनुसार भगौलिक हिसाबले टाढा रहेको मोरीबगरमा प्रहरी चौकी स्थापनाका लागि जिल्ला सुरक्षा समितिलाई धेरै पहिलादेखि माग गरिएको बताए ।
उनले भने, “लामो समयदेखि चौकी स्थापनाका लागि जिल्ला सुरक्षा समिति र गृह मन्त्रालयलाई आग्रह गरेका थियौँ। अन्ततः सफल भएका छौँ । स्थानीयको मागअनुसार नै चौकी स्थापना भएको हो ।”
चौकी स्थापना पश्चात भौगोलिक रूपमा टाढा रहेको उक्त क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्न मद्दत पुगेको छ ।
यसका साथै विपद्का बेला प्रहरीको उपस्थितिले सूचना आदानप्रदान तथा उद्धारमा थप सहयोग मिल्ने जिल्ला सुरक्षा समितिको विश्वास रहेको छ ।
मोरीबगर प्रहरी चौकीमा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा आठ जनाको प्रहरी टोली खटाइएको छ । रासस