म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ मा यस वर्ष तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन्। यी आयोजनाबाट वडाका ३३८ परिवार लाभान्वित भएका छन् र उनीहरूको घरमै खानेपानीको धारा पुगेको छ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक र प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा यी आयोजनाहरू सम्पन्न भएका हुन्। खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाहरू कुल रु १ करोड ७१ लाख ७१ हजार ८५१ को लागतमा निर्माण भएका हुन्।
वडाध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार, आयोजनामा नेवाले रु ८० लाख ७० हजार २१०, गाउँपालिकाले रु ४२ लाख ९१ हजार ९० लगानी गरेका छन् भने उपभोक्ताहरूले रु ४७ लाख नौ हजार ७५१ बराबरको श्रमदान गरेका छन्।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाका १, २ र ३ नम्बर वडामा सातवटा खानेपानी योजना निर्माण भएका छन्। यी योजनाबाट वडा नं १ को निस्कोटमा १२५ परिवार, वडा नं ३ का डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङमा २२५ परिवार, पात्लेका १२२ र लुम्पीपारका ५३ परिवार लाभान्वित भएका छन्।