arrow

उपप्रधानमन्त्री सिंहको चेतावनी: एमाले-कांग्रेस सात बुँदे सहमतिलाई कम नआँक्नुहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
prakashman-shings.jpg

काठमाडौँ। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिको महत्त्वलाई कम नआँक्न चेतावनी दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो चेतावनी दिएका हुन्।

सिंहले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताए। उनले वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको दाबी गरे।

उनले गत निर्वाचन सकिनासाथ कांग्रेस सरकारमा नहुँदा कांग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराए। आफूहरू मन्त्री, उपप्रधानमन्त्री वा सांसद बन्छु भनेर पार्टीमा आवद्ध भई आन्दोलनमा नहोमिएको सिंहको भनाइ थियो। आन्दोलनमार्फत आफूहरूले जनताको अधिकार पुनःबहाली गरेको र अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको उनले बताए।

उपप्रधानमन्त्री सिंहले भने, "हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो। केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन। जनताको अधिकार खोसिएको छ, त्यसको पुनःबहाली गर्न ज्यान समर्पण गर्नुपरे पनि गर्ने भनेर राजनीतिमा लागेका हौँ।"

उनले थपे, "हामीले पार्टीलाई अझ व्यवस्थित गर्नका लागि के नै गुमाउनुपरेको छ र? जेल जानुपर्छ? पहिला त जेल जानुपर्ने, पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने, परिवारको अवस्था नाजुक हुने थियो। त्यो सबै चुनौतीको सामना गरेर हामीले अधिकारका लागि लडेका हौँ। अब तपाईं हाम्रो काँधमा प्राप्त अधिकारलाई सुरक्षित गर्न नेपाली कांग्रेस पार्टीको नेतृत्व अघि बढ्दा राम्रो हुन्छ।"

सिंहले सरकारमा गएर के भयो भन्नेहरूको आलोचना गर्दै भने, "सरकारमा निर्वाचन सकिनासाथ कांग्रेस सरकारमा जान नपाउँदा के भएको थियो भन्ने ती दिनहरू सम्झना गरौँ। सरकारमा खाली सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ। सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ।"

उनले राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरू दलहरूलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको बताए। "नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो। जनताले के भन्न थाले भने सरकारको बनेदेखि दिनगन्ती शुरु हुन्छ। जनताका विषयमा सरकारले के काम गर्दछ? भन्न थाले। स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गठबन्धनको आवश्यकता भएर बनेको हो," उनले स्पष्ट पारे।

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्नेमा जोड दिए। कांग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताउँदै कांग्रेसलाई चुनौतीको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको उनले उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ