अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा युट्युब पनि प्रतिबन्धित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
718
Shares
क्यानेबेरा। अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाहरूको सुरक्षाका लागि सामाजिक सञ्जालमा 'युट्युब' लाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रधानमन्त्री एन्टोनी अल्बानेज र सञ्चार मन्त्री अनिका वेल्सले बुधबार क्यानेबेरामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।
यो प्रतिबन्ध आगामी डिसेम्बर १० देखि लागू हुनेछ। यसअघि युट्युबलाई यसको शैक्षिक र स्वास्थ्यसम्बन्धी सामग्रीका कारण केही समयका लागि छुट दिइएको थियो। यद्यपि, इसेफ्टी कमिसनर जुली इनम्यान ग्रान्टले युट्युबले बालबालिकामा हानिकारक सामग्रीको पहुँच पुर्याउने जोखिम रहेको भन्दै सरकारलाई यसलाई प्रतिबन्धमा समावेश गर्न सिफारिस गरेकी थिइन्।
प्रधानमन्त्री अल्बानेजले भने, "हामी सामाजिक सञ्जालका ती प्लेटफर्महरूलाई उचित नियन्त्रणमा राख्न इच्छुक छौं, जसले बालबालिकामा नकारात्मक प्रभाव पार्न सक्छन्। यो मात्र पहिलो कदम हो, तर यसले निश्चित रूपले सकारात्मक प्रभाव पार्नेछ।"
सञ्चार मन्त्री वेल्सले यो निर्णय अभिभावकहरूको भलाइलाई प्राथमिकतामा राखेर गरिएको र आफूहरू प्रविधि कम्पनीहरूबाट आउने कानुनी दबाबबाट प्रभावित नहुने बताएकी छन्।
युट्युबका प्रतिनिधिले गुगलमार्फत यो निर्णयप्रति आफ्नो चिन्ता व्यक्त गर्दै आगामी कदमहरूबारे विचार गरिरहेको जानकारी दिएका छन्। सरकारले उमेर प्रमाणीकरण प्रविधिको परीक्षणको परिणामको पर्खाइमा छ र त्यसपछि प्रतिबन्ध कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट पार्नेछ।
बालबालिका र अभिभावकहरूको सुरक्षामा सबैको सहयोग महत्त्वपूर्ण रहेको अष्ट्रेलिया सरकारले जनाएको छ।