arrow

अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार र बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
chisapani-road.jpg

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक र बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध बनेका छन्। यसले यात्रुहरूलाई समस्या परेको छ भने यातायात सेवा प्रभावित भएको छ।

रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत गङ्गाबहादुर सारुले जानकारी दिए। डहरेबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। अवरुद्ध सडक सञ्चालन गर्न अहिले प्रहरी टोली परिचालन गरिएको भए पनि पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक सञ्चालनमा समस्या आएको सारुले बताए।

त्यसैगरी, दुई दिनदेखि परेको लगातारको वर्षाका कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाब बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले वर्षात्को समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक लामो यात्रामा ननिस्कन पनि सूचित गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा १८० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ।

यसैगरी, बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए। आज बिहान पहिरो खसेपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेलाबेलामा पहिरो खस्ने गरेको छ। पहिरोका कारण विद्युत्को पोल पनि जोखिममा रहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ