arrow

दश वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने श्रममन्त्री भण्डारीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
saradsing-bhandari.jpg

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताएका छन्। सोमबार सिंहदरबारमा श्रम संसार नागरिक एप सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

मन्त्री भण्डारीले तयार भएको जनशक्तिलाई रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक तथा बाह्य रोजगारको सन्तुलन कायम गर्ने उद्देश्यका साथ आगामी दशकलाई 'आन्तरिक रोजगार प्रवर्द्धन दशक' का रूपमा अघि बढाएको जानकारी दिए। उनले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशीलतासँग जोड्ने गरी सरकार अघि बढेको पनि उल्लेख गरे। सरकारले लिएको रोजगारीको लक्ष्य पूरा गर्नेगरी काम भइरहेको उनको भनाइ छ। नेपालको श्रम बजारबारे विश्लेषणात्मक सूचनाको अभावले नागरिकहरू विदेशिएको परिस्थितिको अन्त्य गर्न सूचना प्रवाहलाई विस्तार गर्न जरुरी रहेको पनि उनले बताए।

मन्त्री भण्डारीले भने, "डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहलाई अत्यन्तै प्रभावकारी ढंगबाट अघि बढाउने र अहिलेको प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका आधारमा श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरू वान डोर सिस्टममा अघि लैजाने कुरामा अघि बढेका छौँ।"

उनले नेपालको श्रम बजारको अवस्था, रोजगारीको उपलब्धता, श्रम बजारमा आउने जनशक्तिको योग्यता लगायतका बारेमा व्यापक छलफल हुनुपर्नेमा जोड दिए। "रोजगारको निम्ति आवश्यकता भएको दक्ष जनशक्ति हामीले तयार गर्नुपर्छ। तयार भएको जनशक्तिसँग रोजगारलाई जोड्नुपर्छ," उनले थपे। मन्त्री भण्डारीले सरकारले निर्धारण गरेको न्यूनतम रोजगारीको व्यवस्था लागू हुनैपर्ने र यदि लागू नभए अनलाइनमार्फत सूचना लिएर कारबाही गरिने पनि स्पष्ट पारे। उनले सूचना प्रविधिले सेवाको क्षेत्रमा धेरै ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सरकारले डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहलाई प्रभावकारी ढंगबाट अघि बढाई प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको मन्त्री भण्डारीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ