arrow

पारिवारिक विवादमा दाजुको हत्या गरी फरार रहेका भाइ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
nepal-police12.jpg

सिराहा । पारिवारिक विवादका क्रममा आफ्नै दाजुको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले भारततर्फ भाग्ने क्रममा सीमावर्ती गाउँबाट पक्राउ गरेको छ।

सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए।

प्रहरीका अनुसार, मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले आफ्नी श्रीमती कौशिला सदामाथि कुटपिट गर्न थालेका थिए। त्यसक्रममा रोक्न आएका दाजु मोतीरामलाई श्यामकुमारले छातीमा धारिलो हतियारले प्रहार गरेका थिए। गम्भीर घाइते भएका मोतीरामलाई छिमेकीहरूले तत्काल लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको थियो।

हत्यापछि फरार रहेका श्यामकुमारलाई प्रहरीले सिराहाको दक्षिणी सीमावर्ती क्षेत्र औरही गाउँपालिका–३, जमुवा नहरको बाटो हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो। उक्त गाउँ भारत–नेपाल सीमाबाट करिब तीन किलोमिटरभित्र पर्छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, पक्राउ परेका श्यामकुमार सदालाई आइतबार जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान थालिएको छ।

प्रहरीले घटनामा प्रयोग गरिएको धारिलो हतियार पनि बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा आरोपितले आफ्नो अपराध स्वीकार गरेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ