साउनको दोस्रो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
623
Shares
काठमाडौं। आज साउन महिनाको दोस्रो सोमबार। यस अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहानैदेखि श्रद्धालुहरू भगवान महादेवको पूजा-आराधना, जल र बेलपत्र चढाउन तथा दर्शन गर्न शिवालयहरूमा पुगेका छन्।
साउन महिना भगवान शिवसँग जोडिएको पवित्र महिना मानिन्छ। सनातन विश्वासअनुसार, यस महिनामा शिवको पूजा गर्नाले सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ। साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यसलाई विशेष रूपमा लिइन्छ। विशेषगरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ।
किम्वदन्तीअनुसार, माता पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी थिइन्। यसै कारण महिलाहरूले साउनको सोमबारलाई बढी महत्त्व दिन्छन्। धार्मिक विश्वास छ कि साउन महिनामा व्रत बसी शिवको पूजा गर्नाले आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुन्छ। महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।