अविरल वर्षाले देशभरका आठ राजमार्ग पूर्ण अवरुद्ध, दर्जनौँ सडकमा आंशिक क्षति
जनजीवन प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
663
Shares
काठमाडौं । मुलुकभर गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका आठ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसले गर्दा यातायात सेवा ठप्प भएको छ भने जनजीवन प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यस्तै, पश्चिम नेपालमा पनि बाढीपहिरोको असर देखिएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर, र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यी मुख्य राजमार्गहरूका अतिरिक्त, केही सडकखण्डहरूमा भने एकतर्फी सवारी साधन सञ्चालनमा रहेका छन्। काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङको बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।
सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या देखिएको छ। प्रहरी र अन्य सम्बन्धित निकायहरूले अवरुद्ध सडकहरू खुलाउनका लागि प्रयास गरिरहेका छन्।