राम्रोसँग सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ता संस्थालाई प्राधिकरणकोजिम्मा लगाउन ऊर्जामन्त्रीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
571
Shares
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ता संस्थाहरूलाई आफ्नो संस्था नेपाल विद्युत प्राधिकरणलाई जिम्मा लगाउन आग्रह गरेका छन्। आइतबार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन्।
उनले नेपाल सरकारले सोही विषयमा यसअघि नै आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराए। त्यस्ता संस्थालाई संस्थाको रोजगारी, लगानी, हिसाबकिताब सबै प्राधिकरणको जिम्मा लगाउन उनको सुझाव थियो।
मन्त्री खड्काले भने, “सामुदायिकका साथीहरूले पनि आफ्नो दैनिकीमा परिवर्तन गर्न सक्नुपर्छ, लाग्नुपर्छ। हिजोको आवश्यकता थियो, त्यसमा सरकारले उच्च सम्मान गरेकै छ, अब त्यही कुरामा चल्न नसक्ने भयो भने? धेरै साथीहरूलाई हामीले आग्रह गरेका छौँ। प्राधिकरणले पनि आग्रह गरेजस्तो लाग्छ नोटिस नै निकालेर। ज–जसले चलाउन सकिरहनुभएको छैन, उहाँहरूले प्राधिकरणलाई जिम्मा लगाउँदै जानुस्। के छ त्यहाँको हिसाबकिताब? के छ साथीहरूको रोजगारीका कुराहरू? त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यतातिर लाग्नुपर्छ।”
कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत् उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारी चाहनामा साथ दिन महासंघलाई आग्रह गरे। त्यसका लागि ठूला परियोजनामा लगानी गर्न पनि उनको आग्रह थियो। नेपाल विद्युत उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्थाहरू आवद्ध छन्।