arrow

पश्चिम चितवन र माडीमा आज छ घण्टा विद्युत् कटौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
electricity-line.jpg

भरतपुर (चितवन) । पश्चिम चितवन र माडी क्षेत्रमा आज (आइतबार) ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण, चनौली वितरण केन्द्रले गर्मीमा विद्युत्को माग बढेको र सिँचाइको लोड धेरै भएको भन्दै यो तालिका सार्वजनिक गरेको हो।

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार, आज बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। अत्यधिक गर्मी र धान रोपाइँको समयमा अकासेपानी नपरेकाले सिँचाइका ग्राहकहरूको विद्युत् खपत बढेको छ। १३२/३३ केभी सबस्टेसनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा ३०० एम्पियरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने, तर अहिले लोड ४५० एम्पियरभन्दा बढी पुगेकाले वितरणमा व्यवस्थापन मिलाउन यो कदम चालिएको हो। यो समस्या एक हप्ताभित्र समाधान गरिने श्रेष्ठले बताए।

नेपाल विद्युत् प्राधिकरण, बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले राससलाई जानकारी दिएअनुसार, विद्युत् माग बढेर ३३ केभी डगकन्डक्टर तारमा ४५० एम्पियरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको हो। दीर्घकालीन समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षदेखि नै बसेनी सबस्टेसनबाट विद्युत् आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको उनले बताए।

विद्युत् आपूर्ति अवरुद्ध हुने क्षेत्रहरू चनौली वितरण केन्द्रअन्तर्गतका नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरू हुन्।

तालिकाअनुसार:

नारायणी–माडी फिडर: बिहान ६:०० देखि ९:०० बजेसम्म र दिउँसो ३:०० देखि ६:०० बजेसम्म।

मेघौली–विजयनगर–शुक्रनगर फिडर: बिहान ९:०० देखि १२:०० बजेसम्म र बेलुका ६:०० देखि ९:०० बजेसम्म।

जगतपुर–रामपुर फिडर: दिउँसो १२:०० देखि ३:०० बजेसम्म र बेलुका ९:०० देखि १२:०० बजेसम्म।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ