कफी नेपालमा असाध्यै सम्भावना रहेको उच्चमूल्य भएको बाली हो । यो नेपालको रैथाने बाली भने होइन । नेपालमा कफी कसरी भित्रियो भन्ने कथा पनि रमाइलो छ । हिरा गिरी नाम गरेका एक भिक्षुले बर्माबाट कफी ल्याएको विश्वास गरिन्छ ।
ती जोगीले पहिलो पटक कफी गुल्मीको आँपचौरमा रोपेका थिए रे । पछि मानिसहरूलाई खान मिल्ने थाहा भएपछि यसको रोपाइ शुरू भयो । व्यवसायिक रुपमा कफी रोप्न थालेको भने धेरै भएकै छैन ।
नेपाल सरकारले पनि यसै ठाउँलाई कफी केन्द्रका रुपमा विकास गरेको छ । विश्वमा बिक्री हुने पेय पदार्थमध्ये कफी पनि एक हो । कमाइका दृष्टिले कफी सबैभन्दा बढी बिक्री हुने पेयपदार्थमा पर्छ ।
सन् २०२४ मा विश्वमा एक सय ३० अर्ब अमेरिकी डलर बराबरको कफी बिक्री भएको थियो । परिमाणका हिसाबले भने कफी तेस्रोमा पर्छ । पहिलोमा पानी, दोस्रोमा चिया र तेस्रोमा कफी । चौथोमा चिसो पेयपदार्थ जस्तै कोका, पेप्सी आदि र पाचौँमा बियर पर्दछ ।
सन् २०२४ मा सात सय अर्ब लिटर पानी पिइएको थियो । यसबाट विश्वले तीन सय ४३ अर्ब डलर कमाइ गरेको तथ्यांक छ ।
दोस्रोमा पर्ने पेय पदार्थ चियाको पनि कमाइ राम्रै छ । सन् २०२४ मा विश्वमा साढे सात अर्ब किलोग्राम चिया बिक्री भएको थियो । यसबाट दुई सय ४५ अर्ब डलर कमाइ भएको थियो ।
कफी स्वास्थ्यमा लागि असल पेय पदार्थ मानिन्छ । यसले मानिसलाई सधैं फूर्ति राख्दछ । कफीमा प्राप्त क्याफिन तत्वले मष्तिष्कमा एडेनोसिन तत्वलाई कम पार्दछ । यही तत्वले हामीलाई अल्छी बनाउँछ ।
मुटुरोगी तथा चिनीरोगीका लागि पनि कफी उत्तम वस्तु हो । यसले रोगसँग लड्ने क्षमता पनि प्रदान गर्ने पोषणविद्हरू बताउँछन् । यसले तनाव कम पार्दछ, तौल व्यवस्थापनमा सहयोग गर्दछ र क्यान्सरका कोषसमेत बढ्नबाट रोक्दछ भन्ने विज्ञहरूको मत छ ।
कफी खास गरी नेपालको आठ सयदेखि १६ सय मिटरको बीचमा पल्ने किसिमको कफीलाई अराबिका कफी भनिन्छ ।
यसको प्रचुर सम्भावना छ । कफीका लागि सरकारले ७५ प्रतिशत छुटमा बिरुवा पनि उपलब्ध गराउँछ । चिया तथा कफी विकास बोर्डले कृषक समूहले माग गरेको खण्डमा कफी प्रशोधन गर्ने मेसिन पनि अनुदानमा उपलब्ध गराउँछ तर किसानमा यसको चेतना जाग्न सकेको छैन ।
ताजा काँचो दाना कफी जसलाई फ्रेसचेरी भनिन्छ, यसको मूल्य एक सय रुपैयाँ तोकिएको छ । ६ केजी ताजा दानाबाट एक केजी हरियो दाना कफी तयार हुन्छ । यसलाई भुटेपछि कफी तयार बन्छ । किसान आफैँले प्रशोधन गरेर बेच्न सके राम्रो भाउ पाइन्छ ।
कफी विज्ञहरू हजार १२ सय मिटरको उचाइमा १० देखि १५ रोपनी जमीनमा कफी लगाए वर्षभरि दूधभात खान खाँचो नहुने हिसाब देखाउँछन् ।
उनीहरूका अनुसार एक रोपनी जमीनमा सयदेखि एक सय २५ बिरुवा लगाउन सकिन्छ ।
यसो गर्दा १५ रोपनीमा १५ सयभन्दा बढी बिरुवा लगाउन सकियो । स्याहार पुगेको अराबिका कफीले प्रतिबोट तीनदेखि चार केजी ताजा दाना दिन्छ ।
यसो गर्दा ४५ सय केजी ताजा दाना फल्ने भो । यसबाट ६ को १ अनुपातमा हिसाब गर्ने हो भने सात सय केजी ग्रिनबिन तयार भयो । यसको मूल्य सरदर १५ डलर मान्दा ९ हजार डलर कमाइ भयो ।
नेपालमा यति भए राम्ररी परिवार पाल्न पुग्छ भन्ने भनाइ छ ।
कफी सम्बन्धी एउटा चाखलाग्दो विषय पनि थपौँ है त । इन्डोनेसिया, भियतनाम र फिलिपिन्सतिर जंगलमा एउटा मलसाँप्रो जातको जनावर पाइन्छ । त्यसलाई इन्डोनेसियामा लुवाक भनिन्छ । यसले पाकेको कफीका दाना सिंगै निल्छ । हाम्रा गाउँघरमा मानिसले च्याम्पुटिसहित लप्सी निले झैं ।
मलसाँप्रोको पेटबाट पाचन क्रियामार्फत दिसाका रुपमा बाहिर निस्केपछि त्यसलाई सफा गरेर थप प्रशोधन गरिन्छ । यो कफी विश्वमा सबैभन्दा महँगोमध्येमा पर्छ । यसो सुन्दा घिनलाग्दो विषय भए पनि यसमा आत्तिनुपर्ने कुरो छैन ।
मलसाँप्रोको पेटबाट बाहिर निस्केको कफीको पनि बाहिरी आवरण जो पातलो हुन्छ, त्योमात्र पचेको हुन्छ । त्यसभित्र कडा आवरण भने पच्दैन ।
हामीले त्यसलाई घाममा सुकाएर अर्को मेसिनले बोक्रो उक्काउनुपर्छ । त्यसैले मलसाँप्रकोको दिसाबाट संकलन गरिएको कफी अशुद्ध भने होइन ।
यसरी मलसाँप्रोको पेटबाट निस्केको कफीमा प्रोटिनको मात्र बढ्न गई कफीमा तितोपन घट्छ र मन्द स्वादको कफी बन्दछ ।
त्यसैले यसको दाम अन्य कफीका तुलनामा बढी पर्छ । यसको दाम ग्राहकको खरीद क्षमता अनुसार ६ सयदेखि १२ सय अमेरिकी डलर पर्छ ।
घरमै मलसाँप्रो पालेर ख्वाएर बनाएकोलाई भने २० देखि एक सय डलर मात्र पर्छ ।
मलसाँप्रोलाई पक्रेर खोरमा राखी कफी ख्वाउने गरिएको भन्दै पशुअधिकारवादीरूले विरोध पनि गर्दै आएका छन् ।
त्यस्तै क्यानाडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन् । यसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर मुख भने तीतो हुन सक्छ ।
खासमा ‘ब्ल्याक आइभोरी कफी’ संसारको सबैभन्दा महँगो कफीमा गनिन्छ । यो हात्तीको गोबरबाट बनेको कफी हो । जसले तपाईंलाई मुख नमिठो बनाउन सक्छ । हो, सुन्दा अनौठो लाग्न सक्छ तर यथार्थ यही हो । यो कफीको एक कपको मूल्य करिब ८ हजार नेपाली रुपैयाँ पर्छ ।
ब्ल्याक आइभोरी कफीको आधिकारिक वेबसाइटका अनुसार यसलाई बनाउने प्रक्रिया साँच्चै अचम्मको रहेको जनाइएको छ । सबैभन्दा पहिले हात्तीहरूलाई ठूलो मात्रामा कच्चा कफी फलहरू खुवाइन्छ ।
यी फलहरू खाएपछि हात्तीले गोबर छोड्छ । त्यसपछि हात्तीले छाडेको यो गोबर जम्मा गरिन्छ र त्यसबाट कफी बिन्स क्रमबद्ध गरिन्छ ।
अनुमान गर्नुहोस् लगभग ३३ केजी काँचो कफी फलफूल खुवाएपछि हात्तीको गोबरबाट मात्र एक किलो कफीको बीउ मात्र निकाल्न सकिन्छ । र यी बीउहरूलाई घाममा राम्ररी सुकाइन्छ र त्यसपछि कालो हात्तीको कफी तयार गर्न भुइँमा हालिन्छ ।
चाखलाग्दो कुरा के छ भने यस्तो अनौठो प्रक्रियाबाट गुज्रिए पनि यो कफी तीतो भने कदापि हुँदैन । यो महँगो कफी अहिले थाइल्याण्डमा ठूलो मात्रामा उत्पादन गरिन थालिएको छ ।
ब्ल्याक आइभोरी कफी जनावरको मलबाट बनाइएको मात्र होइन त्यहाँ दुई अन्य कफीहरू छन्, जुन समान अद्वितीय तरिकामार्फत तयार गरेर विश्व प्रसिद्ध भएका छन् ।
कोपी लुवाक कफीः यो कफी इन्डोनेसियाको मूलको हो र ‘एसियन पाम सिभेट’ भनिने बिरालो जस्तो जनावरको मलबाट संकलन गरिएको दानाबाट यो कफी बनाइन्छ ।
सिभेटले पाकेको कफीका चेरीहरू खान्छ, जुन यसको आन्द्रामा विशेष किण्वन प्रक्रियाबाट गुज्रिन्छ । एक वा दुई दिनपछि क्लस्टरहरूमा बाहिर गोबरको रूपमा निस्कन्छ । यी प्रशोधित दाना संसारको सबैभन्दा महँगो कफी बिन्समध्ये एक मानिन्छ र यसको स्वाद पनि एकदम फरक छ ।
जाकु बर्ड पप कफीः ब्रजिल विश्वको सबैभन्दा ठूलो कफी उत्पादन गर्ने देश हो र यहाँ ब्रजिलका जाकु चराहरूको बिष्टाबाट विशेष कफीका दाना संकलन गरिन्छ ।
यी चराहरूले पाकेको कफीका चेरीहरू खान्छन् र त्यसपछि तिनीहरूको बिष्टाहरूबाट दानाहरू निकाल्छ । त्यसपछि उधोगीहरूले राम्रोसँग सफा गर्छन्, त्यसपछि तिनीहरूलाई विशेष कफी बिन्स तयार गर्न भुटिन्छ । क्रमशः (लेखक ओझा किसानहरूको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)