कांग्रेस-एमाले गठबन्धन ०८४ को निर्वाचनसम्मै कायम रहने ओलीको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
740
Shares
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वमा बनेको वर्तमान गठबन्धन सरकार २०८४ को निर्वाचनसम्मै जाने बताएका छन्। शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार विकासको अठोटका साथ अघि बढेको र आगामी एक वर्षमा धेरै विकास निर्माणका कामहरू गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने, "अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको अगुवाइमा बनेको संयुक्त सरकार हो। जसमा लोसपा पनि छ, जनमत पनि सरकारमा छ। अरु पनि सरकारमा छन्। यो संयुक्त सरकार हो, सबै पार्टीको। जसको नेतृत्व नेकपा एमाले र नेपाली कांग्रेसले गरेको छ। यो समीकरण देश विकासको अठोट लिएको छ।"
उनले आफूले प्रधानमन्त्रीको हैसियतमा अरु एक वर्ष काम गर्ने बताउँदै यो एक वर्षमा धेरै कुराहरूमा परिवर्तन ल्याउने अठोट लिएको जानकारी दिए। प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्मै सरकारले विकास निर्माणका काममा अघि बढ्ने बताए।