‘मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न मिल्दैन, अपरिपक्व निर्णयले पार्टीको साख गिराउँछ’
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
589
Shares
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको पार्टी सदस्य हुनबाट कुनै पनि हालतमा वञ्चित गर्न नमिल्ने बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यो विषयलाई लिएर आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन्।
भण्डारीले आफू राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतीस वर्ष पुगिसकेको र अहिले पैँतालिस वर्ष बितिसकेको उल्लेख गरिन्। पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै पनि पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि नमिल्ने उनको भनाइ छ। उनले एमाले बनाउन आफू लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना र मेहनत लागेको स्मरण गराइन्।
भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सबै एमाले पंक्तिलाई आग्रह गरेकी छन्। उनले भनिन्, “मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुनेछैन। त्यसैले म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु।”
नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुने विश्वास उनले व्यक्त गरिन्। ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व रहेको उनको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो वा आश्चर्य मान्नुपर्ने विषय नरहेको स्पष्ट पारिन्। आफू राजनीतिक व्यक्ति नै भएकाले राजनीतिमा पुनः सक्रिय हुन नौलो कुरा नभएको उनको भनाइ छ। उनले आफ्नो बाँकी जीवन राजनीतिमा लगाएरै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको बताइन्।
उनले आफूमा कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा वा आशक्ति नरहेको स्पष्ट पार्दै भनिन्, “मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो।”
नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको सन्दर्भमा आफू दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था नरहेको उनले जोड दिइन्। जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको अवस्थामा यस सिद्धान्तको प्रतिकूल हुनेगरी आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको उनको तर्क छ।
भण्डारीले नेपालको संविधान, ऐन कानून र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने आफ्नो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्व निर्णयले आफूलाई दुःखित तुल्याएको बताइन्। "यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ," उनले भनिन्, "आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन।" उनले बृहत् छलफल गरी विवेकसम्मत ढङ्गले निर्णय लिनुपर्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म यही भएको बताइन्।