सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, मुसहर्नियाँमा बिहीबार बेलुका घरायसी विवादका क्रममा भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ।
प्रहरीका अनुसार, २५ वर्षीय श्याम सदाले झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन्। छातीमा गम्भीर चोट लागेका मोतीरामलाई तत्काल उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरे।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार, घटनापछि आरोपी श्याम सदा फरार छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ। मोतीरामको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।