सुनसरी । अत्यधिक गर्मीका कारण सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा अहिले स्थानीय र आसपासका सर्वसाधारणको भीड बढ्न थालेको छ।
स्थानीय अरुण मण्डलका अनुसार, सप्तकोशी नदीको पानी 'सिपेज' भएर आउने र यो पानी चिसो हुने भएकाले गर्मी छल्नका लागि मानिसहरू यहाँ नुहाउन आउने गरेका छन्। स्थानीय रुपेश झाले दैनिक १०० भन्दा बढी मानिस नुहाउन आउने गरेको बताएका छन्।
चर्को घामका बेलामा पनि यहाँको पानी चिसो हुने भएकाले बढ्दो गर्मीसँगै नुहाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। कटान क्षेत्रमा लामो तथा छोटो दूरीका सवारीसाधनका चालक र यात्रुहरू समेत नुहाएर विश्राम लिने गर्छन्।
स्थानीयहरूका अनुसार, यस स्थानलाई गर्मी मौसममा व्यवस्थित गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना रहेकोले यसका लागि ठोस योजना बनाउनु आवश्यक छ।