बाजुरामा जीप दुर्घटना: तीन जनाको मृत्यु, १३ घाइतेको हेलिकप्टरबाट उद्धार
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
684
Shares
तस्बिर फाइल
बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार, हिमाली गाउँपालिका–५ को क्युडी गाउँबाट वडा कार्यालय कवाडीतर्फ आउँदै गरेको बा प ०३–००१ ज ०३३८ नम्बरको जीप कच्ची सडक र क्षमताभन्दा बढी यात्रुका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो।
दुर्घटनामा परी घटनास्थलमै ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको मृत्यु भएको थियो। त्यसैगरी, उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलका अनुसार, दुर्घटनामा घाइते भएका जीप चालक गौरी बुढासहित १३ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।