काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा गएकी छिन्।
उनी मंगलबार राति चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।
उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपाने पनि सहभागी छन्।
उपसभामुख राना चीनको हेनान प्रान्तमा साउन ७ देखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिट मा सहभागी हुन गएकी हुन्। सो कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमण गर्नेछिन्। उनी यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।