बीपी कोइरालालाई नबुझेका कारण राजसंस्था नागार्जुनको जंगलमा थन्कियो : विश्वप्रकाश शर्मा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
626
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजसंस्थाले बीपी कोइरालालाई सही रूपमा बुझ्न नसकेका कारण अहिले नागार्जुनको जंगलमा थन्किन पुगेको टिप्पणी गरेका छन्। ४३औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित 'देश विकास र देशवासीको उन्नतिको आधारः बीपी विचार' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महामन्त्री शर्माले 'राजा र मेरो गर्दन जोडिएको छ' भन्ने बीपीको विचारलाई राजसंस्थाले गलत व्याख्या गरेको दाबी गरे। यसैको परिणाम नेपालमा राजसंस्थाको अन्त्य भएको उनको भनाइ थियो। उनले बीपी कोइरालालाई बुझ्ने सवालमा नेपालमा धेरै कमजोरी भएको उल्लेख गरे।
महामन्त्री शर्माले भने, "बीपी कोइरालालाई सही मानेमा जति चाँडो जति सही मानेमा बुझ्न सकिन्छ, त्यति चाँडो देशको उन्नतीलाई सहज बनाउन सकिन्छ। बीपी कोइरालालाई बुझ्ने सवालमा, बीपी कोइरालालाई चिन्ने सवालमा, बीपी कोइरालालाई आत्मसात गर्ने सवालमा नेपालको भिन्न भिन्न शक्तिहरूबाट कमजोरी भएको छ। हामीबाट भएको एउटा कमजोरी छ, नेपालको कम्युनिष्ट आन्दोलनले बीपी कोइरालालाई बुझ्ने सवालमा अर्को कमजोरी छ। राजसंस्थाले, राजाहरूले गर्ने कमजोरीको अर्को पाटो छ।"
उनको भनाइअनुसार नेपाली कांग्रेसले पनि बीपीलाई उचित ढंगले बुझ्न नसकेको र नेपालका कम्युनिष्ट पार्टी तथा राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको छ।