arrow

मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न चार मन्त्रीबीच छलफल, कार्यदल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
ministers.jpg

काठमाडौँ। मधेस प्रदेशमा खानेपानी र सिँचाइको चरम अभाव देखिएपछि त्यसको समाधानका लागि सोमबार चारजना सङ्घीय मन्त्रीहरूबीच छलफल भएको छ। वर्षायाममा पनि मधेस प्रदेशका आठवटै जिल्लामा पानी कम परेकाले उत्पन्न भएको समस्याबारे कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरासिया र खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवबीच बैठक बसेको हो।

ऊर्जा मन्त्रालयमा सम्पन्न उक्त बैठकमा चारवटै मन्त्रालयका सचिवहरूको पनि सहभागिता थियो। बैठकमा मन्त्री अधिकारीले मधेस प्रदेशमा कम वर्षा हुँदा रोपाइँ हुन नसकेको सन्दर्भमा अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिए। उनले टोलीले दिएको सुझावका आधारमा मन्त्रालयले थप काम गर्ने बताए।

बैठकले मधेस प्रदेशमा खानेपानीको समस्या पनि रहेको स्वीकार गर्दै त्यसको अध्ययनका लागि चारवटै मन्त्रालयका सहसचिवको प्रतिनिधित्व रहनेगरी एक कार्यदल गठन गरेको छ। उक्त कार्यदलले तत्काल समस्या पहिचान गरी शीघ्र समाधानका उपायहरू खोज्ने जनाइएको छ।

छलफलमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले तराईका जम्मा ५० प्रतिशत हाराहारीमा मात्र सिँचाइ सुविधा पुगेको बताइन्। उनले सिँचाइ र खानेपानीका लागि भूमिगत पानी नै उत्तम उपाय भएको पनि उल्लेख गरिन्।

मन्त्री अधिकारीले किसानका समस्या समाधान गर्न सरकारले उच्च प्राथमिता दिएको हुँदा यसका लागि चार मन्त्रालयका बीचमा थप समन्वय आवश्यक रहेको बताए। ऊर्जामन्त्री खड्काले चाँडोभन्दा चाँडो जनतालाई खानेपानी र सिँचाइको सुविधा पुर्‍याउन सरकार लागिपरहेको बताउँदै सबै मन्त्रालयबीच समन्वय गरेर काम सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ