काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ। सेवाग्राहीको काम समयमा नगरेको र स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको जस्ता गुनासो आएपछि सोमबार कम्प्युटर निर्देशकसहित ती कर्मचारीलाई अन्यत्र निकायमा कामकाज गर्न खटाइएको हो।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा गठित छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो। सरुवा हुने कर्मचारीहरूमा शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीसमेत रहेका छन्।
उद्योगमन्त्रीस्तरीय निर्णयअनुसार कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन प्रणालीमार्फत गरिने कम्पनी प्रशासनसम्बन्धी सेवाका सम्बन्धमा प्राप्त गुनासोलाई मध्यनजर गरी कार्यालयको स्थलगत अनुगमन गरिएको थियो। प्रवक्ता बस्नेतले सो कार्यालयको सेवालाई सरल, चुस्त, पारदर्शी र थप प्रभावकारी बनाउने लक्ष्यका साथ मन्त्रिस्तरीय निर्णय भएको बताए। सोही निर्णयका आधारमा मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले कार्यालयको स्थलगत निरीक्षण गरेको थियो।
कार्यदल एवं छानबिन समितिले कम्पनी ऐन तथा प्रचलित कानुनबमोजिम प्रणालीगत सुधार र प्रक्रियागत सरलीकरण गरी अनलाइन सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउनसमेत कार्यालयलाई निर्देशन दिएको छ।