arrow

लुम्बिनीमा सवारी दुर्घटना: एक वर्षमा पाँच सय छ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
accident-final.jpg

लुम्बिनी । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५ सय ६ जनाको मृत्यु भएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । आव २०८०/८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४ सय ९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ भएका तीन हजार ४ सय ७९ सवारी दुर्घटनामा पाँच हजार ६सय ९१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्राफिक प्रहरीले सवारीसाधनको जाँच र कारबाहीलाई तीव्र बनाइ रहँदा सवारी दुर्घटनाका घटनामा भने वृद्धि भएको जनाएको छ । 

अघिल्लो आव २०८०/८१ मा भने एक हजार १ सय २० सवारी दुर्घटनामा एक हजार ६ सय ९३ जना घाइते भएका थिए ।

अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्याङ्कमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्याङ्कसमेत समावेश गरिएकोले सङ्ख्या बढी देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारी चालकबाट रु १७ करोड ८३ लाख ८३ हजार ४ सय ११ जरिवाना सङ्कलन भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत आव २०८१/८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने एक लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सवारी नियम उल्लङ्घन बापत सङ्कलित जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा रु ४१ लाख ४५ हजार ९ सय १६ बढी हो । अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्नेबाट रु १७ करोड ४२ लाख ३७ हजार ५ सय ३ जरिवाना सङ्कलन भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा जरिवाना रकम बढी सङ्कलन भए पनि सवारी नियम उल्लङ्घन गरी कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्यामा अघिल्लो आर्थिक वर्षमा भन्दा कमी देखिएको छ ।  ६३ हजार १६ ले कमी हो ।

आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३३ हजार ९६ वटा सवारीसाधन कारबाहीमा परेका थिए भने आर्थिक वर्ष २०८१/८२ कारबाहीमा पर्ने सवारीको सङ्ख्या एक लाख ७० हजार ८० रहेको प्रहरी उपरीक्षक शर्माले बताए । 

प्रहरी उपरीक्षक शर्माका अनुसार सवारीसाधनको कारबाही सङ्ख्यामा कमी देखिए पनि जरिवाना दस्तुर वृद्धि भएको छ । यसबाट सबैभन्दा बढी रुपन्देहीमा ५० हजार ४४१ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड आठ लाख ४९ हजार १२  जरिवाना सङ्कलन भएको छ ।

रुपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत रु एक करोड १८ लाख ८७ हजार तीन र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमार्फत रु चार करोड ८९ लाख ६२ हजार नौ जरिवाना सङ्कलन भएको हो ।

यस्तै बाँकेमा ३७ हजार ४ सय ३५ वटा सवारीसाधनबाट रु तीन करोड २७ हजार ५ सय ३, दाङमा २१ हजार ५ सय ९० सवारीसाधनबाट रु दुई करोड ३१ लाख ६० हजार, कपिलवस्तुमा १३ हजार ५ सय ६१ वटा सवारीसाधनबाट रु एक करोड ४५ लाख ५० हजार र पश्चिम नवलपरासीमा आठ हजार ३०० सवारीसाधनबाट रु एक करोड छ लाख नौ हजार जरिवाना सङ्कलन भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ