चितवन । कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ ।
विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो ।
कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८ सय ८ जना कैदीबन्दी नयाँ थपिएका छन् ।
यस्तै, सोही समयमा ६ सय ७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १ सय ५० जना नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)का हुन् भने अन्य चितवनका छन् ।
गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १ सय ४५ जना छ ।
यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी ६ जना रहेको उनले जानकारी दिए।
उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन् । प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ ।
कारागारमा गत आर्थिक वर्षमा दुई जना कैदीबन्दीको मृत्यु भएको उनले जानकारी दिए । क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो ।
अहिले कारागार कार्यालयमा ७ सय ३० जना छन् । जसमध्ये ६ सय ८४ जना पुरुष र ४६ जना महिला रहेका छन् ।
तीसँग आश्रित पाँच जना बालबालिका रहेका छन् । कारागारमा ४ सय ७० पुरुष र ३५ जना महिला राख्ने क्षमता छ । रासस