काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन महत्वपूर्ण नीतिगत पहल गरेको बताएका छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नियमावली र कार्यविधि संशोधन गरिएको जानकारी दिए। यसबाट मल आपूर्ति र वितरण व्यवस्थापनमा देखिएका समस्याहरू सम्बोधन हुने अपेक्षा उनले राखेका छन्।
अनुदानको मल वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन मल व्यवस्थापन सूचना प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको छ। विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरूको समायोजन अनुसार संगठन संरचनामा सुधार गरी १२९ नयाँ दरबन्दी थप गरिएको छ, जसले संगठनलाई सुदृढ बनाएको छ।
कृषि तथा पशुपंक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको छ। कृषि क्षेत्रको एकीकृत कानुनका रूपमा रहेको कृषि विधेयक र राष्ट्रिय कृषि नीति तर्जुमा भई मन्त्री परिषद्मा लैजाने अन्तिम तयारीमा रहेको छ। त्यसैगरी, पशु कल्याण ऐनलाई पनि अन्तिम रूप दिइएको छ। बीउ बिजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको छ।
मन्त्री अधिकारीले रैथाने बालीको संरक्षण, प्रवर्द्धन एवं प्रचार प्रसार गर्न साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय भएको पनि बताए। यसअघि वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाएर पहिलो राष्ट्रिय याक दिवस मनाइएको थियो।
बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतिपत्र नवीकरण, प्रमाणीकरण लगायतका कार्यहरू अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावी बनाइएको छ। गत मंसिरदेखि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँचवटा पशुपंक्षी रोग प्रयोगशालाहरूमा ल्याबोरेटोरी इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएको पनि उनले जानकारी दिए।
मन्त्री अधिकारीले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरे।