देशभर छ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, केही सडकमा आंशिक सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
482
Shares
काठमाडौं ।अविरल वर्षा र त्यसबाट सिर्जित बाढीपहिरोका कारण देशका छ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, यी सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ, जसले जनजीवन र यातायातमा गम्भीर असर पारेको छ।
सङ्खुवासभास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, पाँचथरमा मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पनि पूर्ण रूपमा बन्द छन्। मेची राजमार्ग पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सङ्गमस्थल हेवाखोलामा बाढीले 'डाइभर्सन' बगाउँदा अवरुद्ध भएको हो भने, पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर करिडोर सडकखण्डमा पनि यातायात ठप्प छ।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३, तरङखोलामा बाढी आएकाले कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पाको थबाङ गाउँपालिका–१ र २ मा पहिरो खस्दा सहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
कतिपय सडकखण्डमा भने एकतर्फी सवारीसाधन सञ्चालनमा रहेका छन्, जसले आंशिक रूपमा भए पनि यातायातलाई निरन्तरता दिएको छ। काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा अहिले एकतर्फी सवारी साधन चलिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि थप बाढीपहिरोको जोखिम कायमै छ। यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन प्रहरी प्रशासनले सबैमा आग्रह गरेको छ।