७० वर्षे उमेर हदबारे ओलीको भनाइमा रावलको सुझाव- 'बाल्यकाल र सुतेको समय पनि घटाउनु'
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
768
Shares
काठमाडौँ। नेकपा (एमाले)का पूर्व नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको 'सत्ता मोह' लाई लिएर कडा व्यङ्ग्य गरेका छन्। एमालेमा ७० वर्षे उमेर हदको प्रावधान हटाउने सन्दर्भमा ओलीले कारागारमा बिताएको अवधि घटाउनुपर्ने भनी दिएको भनाइप्रति रावलले असन्तुष्टि व्यक्त गरेका हुन्।
रावलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ओलीको भनाइप्रति तिखो प्रहार गरेका छन्। रावलले ओलीलाई राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन सुझाव दिएका छन् ।
उनले लेखेका छन्, "एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि?"
रावलको यो टिप्पणीले ओलीको उमेर हदसम्बन्धी धारणा र पार्टीभित्रको आन्तरिक बहसलाई थप चर्क्याएको छ। आज बस्ने एमाले केन्द्रीय कमिटीको बैठकमा पनि यस विषयमा चर्को छलफल हुने सम्भावना बढेको छ।