पदाधिकारी हेरफेरको अद्यावधिक ढिलाइलाई लिएर निर्वाचन आयोग पुग्यो रास्वपा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
765
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगले ढिलाइ गरेको भन्दै आइतबार आयोगमा जानकारी लिएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानुन विभागका सदस्यहरूले आयोगमा पुगेर यसबारे चासो राखेका हुन्। निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरूले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए। उनले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्ब गरेको अवस्थाबारे आफूहरूले आयोगलाई झकझक्याएको बताए।
बुर्लाकोटीका अनुसार, आयोगले पार्टीले दिनुपर्ने सबै कागजातहरू पुगेको जानकारी गराएको छ। पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाए पनि अद्यावधिक नगरिएको आरोप उनले लगाए।
उनले भने, “पार्टीको कानुन विभागका कानुन व्यवसायी साथीहरूसहित आउनुको कारण निर्वाचन आयोगले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्ब गरेको अवस्था देखियो। यो विलम्ब नगर्नुपर्ने, यसमा केही कैफियत छ कि त भनेर कुरा राख्न आएका थियौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुखज्यूलाई सचिवज्यूहरूसहित छलफल गरेका छौँ। पार्टीबाट बुझाइएका विवरणहरू सबै पुगेको छ भन्ने जानकारी गराउनुभयो। हामीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाइरहेका छौँ। किन विलम्ब भयो भन्ने कुरा गर्दा गर्दैछौँ भन्ने कुरा आयो।”
रास्वपाले अद्यावधिकको क्रममा द्रुत गतिमा अघि बढ्नुपर्ने माग आयोगसमक्ष राखेको छ।