काठमाडौँ। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत यो रकम खिच्न लागेको हो। हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
यो बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा, सबैभन्दा कम ब्याजदर बोल गर्ने काउन्टर पार्टीहरूलाई प्राथमिकता दिइनेछ र आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ र यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ हुनेछ भने अधिकतम रकम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।
केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थालाई टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ।
यसअघि गत आइतबार पनि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप खिचेको थियो। मौद्रिक नीति आएको एक हप्ता बितिसकेको छ, तर मौद्रिक नीतिमा केही खुकुलो गरिए पनि बजारमा लगानी खासै बढ्न सकेको छैन भने अर्थतन्त्र पनि शिथिल नै देखिएको छ।