सुनसरी र मोरङका खोलामा बाढीको जोखिम, सतर्क रहन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
577
Shares
इटहरी (सुनसरी)। जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
तीव्र वर्षा र निरन्तर सक्रिय मौसमी प्रणालीका कारण यी खोलाहरूमा बाढीको सम्भावना बढेको विभागले जनाएको छ।
आज बिहान जारी सूचना अनुसार, वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कले तीव्र वर्षाको सङ्केत दिएको छ। विशेषगरी, आज दिउँसोसम्म ती खोलाहरूमा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना रहेको विभागले बताएको छ।
विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
यसैबीच, इटहरी उपमहानगरपालिकाका वडा नम्बर ३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ। स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।