एमाले बैठकमा आफ्ना धारणा राख्न कुनै बन्देज छैन: नेता तामाङ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३ शनिबार
678
Shares
काठमाडौँ। नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले पार्टीका बैठकहरूमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो भनाइ राखेका हुन्।
तामाङले बैठकमा नेताहरूले आफ्नो दृष्टिकोण भरपूर रूपमा स्वतन्त्र भएर राखेको दाबी गरे। उनले पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रतामा कुनै बन्देज नरहेको स्पष्ट पारे। विगतमा पार्टीमा रहेर पनि निरन्तर आलोचना गर्ने केही नेताहरूलाई कारबाही गरिए पनि आत्मालोचनापछि उनीहरू पार्टीमा फर्किसकेको उनले बताए।
"बैठकमा सदस्यहरूले आफ्नो दृष्टिकोण भरपूर रूपमा स्वतन्त्र भएर राख्नुभएको छ। त्यहाँ कुनै बन्देज छैन," तामाङले भने। उनले थपे, "विगतका कतिपय एक–दुई वटा घटनाहरूमा पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही साथीहरू पार्टीभन्दा बाहिर रहनु पनि भयो। केही साथीहरू आत्मालोचना गरिसकेपछि पार्टीले पुनः स्वीकार गरिसकेको छ।"
तामाङले एमालेभित्र वाक् स्वतन्त्रता र दृष्टिकोण राख्न बन्देज छ भन्ने बाहिर चलेको चर्चा सत्य नभएको दाबी गरे। "एमालेको बैठकमा कुनै सदस्यहरूको बीचमा कुनै भनाभन भएको छैन। हामी सौहार्दपूर्ण रूपमा दृष्टिकोण राखिरहेका छौँ," उनले भने।
तामाङले प्रस्तावित पार्टी विधानमा तीन जना उपाध्यक्ष रहने र वरिष्ठ उपाध्यक्ष नराख्ने प्रस्ताव रहेको जानकारी दिए।
उनले उमेर हद क्रियाशीलतामा आधारित हुने भएकाले उमेर पुग्नासाथ व्यक्तिको क्रियाशीलता कम हुने भन्ने नरहेको पनि बताए।