ऊर्जामन्त्री खड्काको एकवर्षे कार्यकाल: ६३१ मेगावाट विद्युत उत्पादन वृद्धि, ७८ प्रतिशत कार्यसम्पादनको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
971
Shares
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको सहकारी मन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण प्रस्तुत गरे।
आफ्नो एक वर्षे कार्यकालमा ऊर्जा, प्रसारण लाइन र सिँचाइको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै मन्त्री खड्काले सिँचाइतर्फ ८५ प्रतिशतभन्दा बढी कार्यसम्पादन भएको र समग्र मन्त्रालयको प्रगति ७८.१७ प्रतिशत रहेको जानकारी दिए। उनका अनुसार, १ वर्षको अवधिमा ६३१ मेगावाट विद्युत उत्पादन बढेर विद्युत जडित क्षमता ३,८७८ मेगावाट पुगेको छ।
मन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी ऊर्जा विकास र विस्तार तथा समृद्धिको सपना पूरा गर्न कार्ययोजना समेत सार्वजनिक गरिएको बताए। उनले १५ हजार मेगावाट बिजुली भारत र बङ्गलादेशलाई निर्यात गर्ने सम्झौता भइसकेको उल्लेख गर्दै १३ हजार ५ सय मेगावाट विद्युत स्वदेशमै खपत गरिने लक्ष्य लिइएको बताए। उनले बङ्गलादेशसँग ४० मेगावाट विद्युत बिक्री सम्झौता गरी ५ महिनामा १ अर्ब २५ करोडभन्दा बढी आम्दानीको सुनिश्चितता भएको बताए। हाल ८५० मेगावाट विद्युत निर्यात भइरहेको उनको दाबी छ।
मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, र विद्युत विधेयक संसदमा विचाराधीन रहेको उल्लेख गर्दै सिँचाइ र नदी व्यवस्थापन विधेयकको मस्यौदा समेत तयार भएको बताए।
उनले निजी क्षेत्रको समेत सहभागितामा आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी कार्य गराउन आवश्यक नीतिगत तथा नियमनकारी व्यवस्था सम्बन्धमा विस्तृत अध्ययन गर्न समिति गठन गरी कार्य अगाडि बढाइएको पनि जानकारी दिए।