नगरपालिकाले कालीगण्डकी किनारमा निर्माण गर्यो पैदलमार्ग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
520
Shares
पाल्पा । धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी नदीको किनारमा २ हजार ५६७ मिटर लामो पैदलमार्ग निर्माण गरेको छ। रामपुरका नगर प्रमुख रमणबहादुर थापाका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा यो महत्त्वपूर्ण काम सम्पन्न भएको हो।
रामनदीधामदेखि देवघाटसम्मको कुल ३४ किलोमिटर लामो पैदलमार्ग निर्माण गर्ने बृहत् योजनाअन्तर्गत रामपुर नगरपालिकाले आफ्नो क्षेत्रमा यो खण्डको निर्माण गरेको छ। यसले धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वलाई उजागर गर्न मद्दत पुग्ने विश्वास नगरपालिकाले लिएको छ।
नगर प्रमुख थापाले यस मार्गमा ढुङ्गा बिछ्याउने र ‘इन्टरलक’ लगाउने काम भइरहेको बताए। उनले नदी किनारको प्राकृतिक सौन्दर्य र धार्मिकस्थलहरूको पहुँचलाई सहज बनाउँदै स्थानीय पर्यटन र अर्थतन्त्रमा यसले ठूलो योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
आर्थिक वर्ष ०८१/८२ मा यो मार्गका विभिन्न स्थानमा २ मिटर चौडाइको काम सम्पन्न भएको छ। वडा नं. ३ को केलादीमा ५५७ मिटर, वडा नं. ६ को ज्याग्दीपार्कमा १९१ मिटर, तिलकपुरमा ४३२ मिटर इन्टरलक, सुन्दर फनपार्कमा १९५ मिटर इन्टरलक, वडा नं. ८ को भुजात क्षेत्रमा ६७८ मिटर ढुङ्गा छाप्ने र २१० मिटर इन्टरलक, वडा नं. १० को शालिकराम पार्कमा ११४ मिटर ढुङ्गा छाप्ने र नरमदेश्वर मन्दिरमा १९० मिटर इन्टरलक राख्ने तथा ढुङ्गा छाप्ने काम भएको छ।
यसका अतिरिक्त, वडाको भानघाट र तातोपानीघाटमा प्रतीक्षालय पनि निर्माण गरिएको छ। यो परियोजना सङ्घीय सरकार र रामपुर नगरपालिकाको समन्वयमा सञ्चालित भएको हो।
कालीगण्डकी नदी रामनदीधाम, केलादीधाम, रामघाटधाम, रिडीधाम र देवघाटजस्ता महत्त्वपूर्ण धार्मिक स्थलहरूसँग जोडिएकाले यो पैदलमार्ग निर्माणले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने स्थानीय बासिन्दाहरूको विश्वास छ।